Friday, October 20, 2023

नेपाली भाषामा बढ्दै गएको दरिद्रता- राजु अधिकारी

 

• उनलाई मन पर्ने एउटा फिचर उसले आफ्नो नयाँ उत्पादनमा राख्न शुरु गर्‍यो ।

• त्यस्तो परिस्थितिमा यात्रुको अवस्थाका बारेमा क्रु मेम्बरलाई जानकारी गराइन्छ ।

• म्यासेजहरु डिलिट गर्दा होश पुर्‍याउनुपर्छ ।

• त्यति भनेर ऊ आफ्नो रुमतिर लागी ।

माथिका उदाहरणमा रहेका वाक्यांशहरु नाम चलेका पत्रिकाहरुका समाचार, लेख र साहित्यिक रचनाहरुबाट लिइएको हो । पहिलो पंक्तिको वाक्यांश एउटा लेखबाट लिइएको हो जसमा लेखिएको ‘फिचर’ शब्दको साटो ‘बिशेषता’ लेख्न त्यो लेख लेख्नेलाई कति गाह्रो लाग्यो त्यो कुरा लेख लेख्नेलाई नै थाहा होला । हाम्रो जस्तो धेरै जसो जनता अझै पनि साक्षर मात्र भएको देशमा ‘फिचर’ शब्दको वास्तविक अर्थ बुझ्ने कति होलान् ?

दोश्रो पंक्तिको वाक्यांश एउटा समाचारबाट लिएको हो । यसमा पनि ‘क्रु मेम्बर’ बुझ्न सक्नेले ‘चालक दल’ लेखेमा नबुझ्ला र ? ‘क्रु मेम्बर’ लेख्नै पर्ने आवश्यकता देखिदैन ।

त्यस्तै तेस्रो पंक्तिको वाक्यांश पनि एउटा समाचारबाट लिइएको हो । ‘डिलिट गर्दा’ लेख्दा स्तरीय सुनिएला या ‘मेटाउँदा’ लेख्दा स्तरीय लाग्ला सबैले छुट्टाउन सकिने कुरो हो ।

अनि अन्तिम पंक्तिको वाक्यांश चाहिँ चर्चित पत्रिकाले छापेको एउटा कथाबाट लिइएको हो । यसमा त झन् अनावश्यक रुपमा कोठाको साटो ‘रुम’ प्रयोग गरिएको छ जसले कथाको स्तर बढाएको नभई घटाएको छ ।

माथिका उदाहरणका वाक्यांशहरु पढ्दा यस्तो लाग्छ, नेपाली भाषामा मनग्गे शब्दहरु नै छैनन् र हामीले बाह्य भाषाबाट शब्दहरु मागेर चलाउनु परेको छ । के नेपाली भाषा त्यति दरिद्र भैसक्यो कि हामीले अन्य भाषाबाट शब्दहरु सापटी लिनुपर्ने भयो ? या हामी आफ्नो माग्ने बानीलाई भाषामा पनि प्रयोग गरेर आफ्नो दारिद्र्यता आफै देखाउँदै छौ ?

आजभोलि पत्रिकामा छापिएको समाचार होस्, साहित्यिक लेख होस् या अन्य कुनै पनि नेपालीमा लेखिएका लेखहरु हुन्, तिनमा बाह्य भाषाका शब्दहरु अनि बिशेष गरी अंग्रेजी भाषाका शब्दहरु जस्ताको तस्तै रुपमा नेपालीकरण गरेर लेखेको पाइन्छ । लेखनमा मात्र होइन टेलिभिजन या रेडियोमा बोल्ने भाषामा पनि त्यही स्थिति छ । अहिले बर्षाका च्याउ सरी उम्रेका एफ एम रेडियो र तिनका अधिकांश युवा प्रस्तोताहरुले प्रयोग गर्ने भाषाको स्थिति त झन् दयनीय छ ।

भाषा भनेको नियमित परिवर्तन हुने चिज हो, त्यसलाई रोकेर रोक्न पनि सकिदैन तर भाषाका आफ्ना बिशेषता पनि हुन्छन् । ती विशेषतालाई नाघे पछि त्यो भाषाको अपमान गरेको ठहर्छ । नेपाली भाषामा हुँदै नभएका केही नयाँ शब्दहरुलाई अन्य भाषाबाट ल्याएर त्यसलाई जस्ताको तस्तै रुपमा राख्नु ठूलो कुरो होइन । जस्तो कि ‘टिकट’ शब्द अंग्रेजीबाट जस्ताको तस्तै नेपालीमा आएको छ किनभने नेपालीमा त्यो अर्थ व्यक्त गर्ने अन्य कुनै शब्द नै थिएन । त्यो बाहेक, अर्काथरि शब्दहरु जो नेपालीमा उल्था भएका हुनसक्छन् तर ती शब्दहरु नेपालीमा बोल्दा अलि अप्ठ्यारो पनि लाग्ने अथवा अनौठो सुनिने हुन्छ, त्यस्ता शब्दहरुलाई जस्ता को तस्तै रुपमा प्रयोग गरिन्छ र गरिएको छ, त्यसमा कसैको आपत्ति हुदैन । त्यसको एउटा उदाहरण हो— रेडियो ।

रेडियोलाई नेपालीमा उल्था गरेर आकाशबाणी भन्न सकिन्थ्यो तर रेडियो भन्दा सजिलो हुने हुनाले त्यही नै नेपाली शब्द हुन पुग्यो । त्यसैले त्यस्ता शब्दहरुलाई स्विकार्नु बाहेक अर्को उपाय पनि छैन । तर नेपालीमा नै प्रसस्त भएका, जनामानसको जिब्रोमा झुन्डिएका शब्दलाई पनि प्रयोग नगरेर जबर्जस्ती आगन्तुक शब्दहरु प्रयोग गर्ने अहिले होडबाजी नै चलेको देखिन्छ ।

त्यसो भनेर बाह्य भाषाका शब्दहरु प्रयोग नै गर्नु हुदैन भनेको पनि होइन । अंझ अंग्रेजी त विश्वब्यापी भाषा नै भैसक्यो, कतिपय ठाउँमा अंग्रेजी भाषाका शब्दहरु प्रयोग नगरेर सुखै पाइदैन जस्तो कि विज्ञान र प्रविधि क्षेत्रका कतिपय शब्दहरु अंग्रेजी नै प्रयोग गर्नुपर्छ । तर सामान्य प्रयोजनको लागि जनमानसले सजिलै पचाउन सक्ने शब्दहरु हुँदाहुँदै पनि अर्को भाषाका शब्दहरु प्रयोग गर्नु भनेको भाषाको अपमान मात्र होइन विकृति पनि हो ।

साहित्य लेखनमा कुनै पात्रका संवादको लागि उसको मौलिकता देखाउन बाह्य भाषाहरु जस्ताको तस्तै अलि बढि नै प्रयोग हुन्छन् । जस्तो कि ‘नाइस टू मिट यु, उसले हात मिलाउँदै भन्यो’ भनेर कुनै कथा या उपन्यासमा लेख्न सकिन्छ । तर त्यस्ता बाह्य भाषाका शब्द या वाक्यहरु प्रयोग गर्दा मोटो अक्षर या टेढो अक्षर या उल्टो कमा (“_”) या अन्य कुनै विधिले त्यो शब्द नेपाली हैन है भन्ने कुरा पाठकलाई जानकारी गराउन सकिन्छ । त्यस्तो परिप्रेक्षमा बाह्य भाषाको शब्द या वाक्य प्रयोग गर्दा सायद अधिकांश पाठकहरुलाई पाच्य पनि होला । तर त्यसैलाई अर्को तरिकाले पनि पाठक समक्ष राख्न सकिन्छ जस्तो कि ‘उसले उनलाई भेट्दा आफूलाई खुशी लागेको कुरा अंग्रेजीमा बतायो’ भनेर लेख्न सकिन्छ ।

तर सोझै कुनै सन्दर्भ बिना नै अंग्रेजी शब्दलाई टपक्क उठाएर नेपाली लेखमा राख्नु आफैमा लाज मर्दो हो, जस्तो कि माथिको चौथो पंक्तिको वाक्यांशको उदाहरणमा ‘रुम’ शब्द यस्तै कुनै आवश्यकता बिना प्रयोग गरिएको छ ।

हामी भनौंला बाह्य भाषाका शब्दहरु नलिंदा भाषा कहाँ बलियो हुन्छ र ? एकलकाँटे भएर कसरी भाषा धनी हुन्छ? सबै भाषाबाट शब्दहरु लिएको हुनाले नै अंग्रेजी अहिले संसारको सबभन्दा लोकप्रिय भाषा भएको छ । तर अंग्रेजी र नेपालीको कुरो अर्कै हो । अंग्रेजी भाषाले आफ्नो अस्तित्वको बारेमा सोच्नु पर्दैन, अनि अंग्रेजी भाषा एउटा निश्चित समुदाय या देशमा मात्रै बोलिदैन त्यसैले यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि छैन र नियन्त्रण गर्न सम्भव पनि छैन । तर भाषामा तीव्र विदेशिकरण भयो भने नेपाली भाषाले आफ्नो अस्तित्व नै गुमाउनु पर्ने समय आउन पनि सक्छ । बाह्य भाषाका शब्दहरु अनियन्त्रितरुपमा अन्धाधुन्ध आयात गर्दा नेपाली भाषा धनि त होला तर त्यो भनेको मागेर धनी भएको जस्तै हो ।

त्यसो त नेपाली भाषा पहिले देखि नै धनी छ । नेपाली शब्दकोशमा ६० हजारको हाराहारीमा शब्दहरु होलान, तिनलाई क्रिया, लिंग र काल अनुसार प्रयोग गर्दा लगभग एक लाख भन्दा बढि शब्दहरु सजिलै बनाउन सकिन्छ । नेपालीमा हुँदै नभएका, उल्था गर्दा पनि अलि अनौठो लाग्ने अनि जनमानसले पचाइसकेका केही आगन्तुक शब्दहरु र शुद्ध नेपाली भाषाका शब्दहरु मात्रै प्रयोग गरेर साहित्य, समाचार या अन्य कुनै लेख लेख्दा अनि रेडियो र टेलिभिजनमा बोल्दा शब्दहरु काफि नहोलान् जस्तो लाग्दैन ।

कुनै पनि भाषाको साहित्य या लेखमा जनजिब्रोका भाषा र शब्दहरु प्रतिबिम्बित हुनु पर्छ भनेर भन्ने कुरो ठिकै हो तर अहिले जस्तो संचारको युगमा साहित्य, लेख, अखबारहरु, टिभीले भाषालाई शुद्धिकरणतर्फ डोर्‍याउन पनि निर्देशनात्मक भूमिका निर्वाह गर्नुपर्छ । जनजिब्रोलाई हामीले नियन्त्रण गर्न सक्दैनौ तर उनीहरुले सुन्ने समाचार र पढ्ने लेखहरुबाट नै उनीहरुले आफ्नो भाषा बनाउँछन् । त्यसैले अवश्य पूर्णरुपमा दिशा निर्देश गर्न नसके पनि उनीहरुलाई एउटा सही दिशातिर डोर्‍याउन चाहिँ सकिन्छ । त्यसो गर्दा भाषा धनी पनि हुन्छ अनि भाषाको मैलिकता पनि जोगिन्छ ।

नेपाली भाषाको पछाडि बिशाल शब्दकोश भएको सुमधुर र सुसभ्य संस्कृत भाषा छ । संस्कृत भाषामा २० लाख भन्दा बढि शब्दहरु छन् भनिन्छ र हामीले जति पनि शब्दहरु संस्कृत भाषाबाट ल्याउन स्वतन्त्र छौं । संस्कृतबाट ल्याईएका शब्दहरु जस्ताको तस्तै या परिमार्जन गरेर नेपालीकरण गरेर प्रयोग गर्न सकिन्छ । त्यतिले पनि पुगेन भने हाम्रा भगिनी भाषाहरु जस्तै मैथिली, भोजपुरी, थारु, तामाङ, लिम्बु भाषाहरुबाट पनि नेपालीमा शब्दहरु आयात गर्न सकिन्छ । त्यसो गर्दा नेपाली भाषा को मात्र नभएर हाम्रा अन्य राष्ट्रिय भाषाको पनि विकास हुन्छ ।

त्यसैले नेपाली भाषाको नियमन गर्ने संस्थाले नेपाली भाषाका लेखहरु, समाचार, साहित्य अनि रेडियो र टेलिभिजनमा प्रयोग हुने भाषाको अनिवार्य शुध्दिकरणको लागि कदम चाल्ने बेला आएको छ ।

000

https://mysansar.com

No comments:

Post a Comment