फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । अन्तर्राष्ट्रिय मातृभाषा दिवस बहुभाषिक र बहुसांस्कृतिक विविधता र बहुभाषिकता प्रवर्धनका लागि विविध कार्यक्रमसहित प्रत्येक वर्ष मनाउने गरिन्छ । हामीले यो दिवस मनाउनुको प्रयोजनसमेत खोज्नुपर्ने हुन्छ । यस वर्ष (सन् २०२३ मा) युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा मूलतः तीन विषयमा आफ्ना कार्यक्रम केन्द्रित गर्ने लक्ष्य राखेको छ ।पहिलो, बहुभाषिक परिवेशमा शिक्षालाई रूपान्तरण गर्नका लागि विद्यालय जान भर्ना हुने उमेरका बालबालिकाको शिक्षामा मातृभाषामा शिक्षा दिनका लागि जोड दिने । द्वितीय, द्रुत गतिले बदलिँदै गएको विश्व परिवेशको सन्दर्भ, संकटकालीन अवस्था र संकटकालीन परिस्थितिमा बहुभाषिक शिक्षा र बहुभाषिकतामार्फत सिकाइ प्रवद्र्धन गर्ने । तृतीय, लोपोन्मुख अवस्थामा रहेका तथा लोप हुनै लागेका भाषालाई पुनः सबलीकरण गर्ने । यस वर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको नारा ‘शिक्षाको रूपान्तरणका लागि बहुभाषिक शिक्षाको आवश्यकता’ रहेको छ ।यस वर्षको विषय स्थानीय भाषालाई शिक्षामा प्रयोग गर्ने तथा उनीहरूलाई शिक्षाको अवसरसँग अन्तरसम्बन्धित गराउनेसमेत रहेको छ । बहुभाषिक मुलुक नेपालमा समेत अन्तर्राष्ट्रिय मातृभाषा दिवस सान्दर्भिक रहेकाले नेपालमा बोलिने भाषाबारे समेत यसको सान्दर्भिकता रहेको छ । प्रस्तुत लेखमा उल्लिखित तीन विषयको चर्चा गर्दै नेपालको सन्दर्भ जोड्ने प्रयास गरिएको छ । विश्वव्यापी रूपमा ४० प्रतिशत जनसंख्याको आफ्नो मातृभाषा वा आफूले बुझ्ने भाषामा शिक्षाको पहुँच छैन । हालका वर्षमा बहुभाषिक शिक्षाको महत्व बुझेर बहुभाषिक शिक्षाका कार्यक्रमले व्यापकता पाउँदै गएको छ । हालका केही दशकमा बालबालिकालाई मातृभाषामा शिक्षा प्रदान गर्ने कार्यक्रम प्रभावकारी हुने विषयले व्यापक आकार ग्रहण गरेको छ । शिक्षामा बहुभाषिकता समावेशी स्वभावको हुन्छ ।भाषाको कारणले शिक्षामा कसैलाई छुट नदिने हुनाले यसले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यको उद्देश्यलाई समेत आत्मसात् गर्छ । युनेस्को जस्ता संस्थाले बहुभाषिक शिक्षालाई प्रवद्र्धन गर्ने लक्ष्य राखेका हुन्छन् । बहुभाषिक शिक्षामा बालबालिकाले बोल्ने वा बुझ्ने भाषामा शिक्षा प्रारम्भ गरी क्रमशः सिकाइमा अन्य भाषाको प्रयोग बढाउँदै लगिन्छ । बहुभाषिक मुलुकमा बालबालिकाले दोस्रो तथा तेस्रो भाषामा विद्यालयमा पठनपाठन गर्दा उनीहरूले दोस्रो वा तेस्रो भाषा बुझ्नका लागि र भाषाका माध्यमबाट बोध गर्ने विषयवस्तुका लागि थप प्रयत्न र संघर्ष गर्नुपरिरहेको हुन्छ । पाठ्यसामग्रीमा आफ्नो संस्कृतिसम्बन्धी सामग्री समावेश नगरिएका कारण बालबालिकालाई विषयवस्तु बुझ्न कठिनाइ भोग्नुपर्ने यथार्थसमेत यहाँनेर स्मरणीय छ । शिक्षणमा मातृभाषा प्रयोगले बालबालिकाको घर र विद्यालयको भाषाबीच हुने वातावरणको अन्तरलाई कम गर्छ । यसले घर र विद्यालयको वातावरणबीचको दूरी कम गरी विद्यालयको वातावरणलाई मातृभाषासँग जोड्न सघाउँछ । यस प्रकारको वातावरणमा बालबालिकाको सिकाइ प्रभावकारी हुन्छ । बहुभाषिक शिक्षाले समावेशी समाजको विकासमा सघाउ पुर्याउँछ । बहुभाषिक शिक्षाले बहुभाषिक संस्कृति, विश्व दृष्टिकोण र ज्ञानको विकासलाई जोड दिने भएकाले समावेशी समाजको विकासमा सघाउ पुर्याउनुका साथै सहअस्तित्वमा सहयोग पुर्याउँछ । यसैगरी मातृभाषालाई शिक्षामा प्रयोग गर्दा ती भाषाको संरक्षणमा समेत टेवा पुग्ने विषयसमेत यहाँनेर स्मरणीय छ ।यस कार्यक्रमले शिक्षाको माध्यम भाषाले समावेश गर्न नसकेका अल्पसंख्यक भाषिक समुदाय र आदिवासी जनजातिका भाषालाई मूल रूपमा सघाउ पुर्याउँछ । नेपालजस्तो बहुभाषिक मुलुकमा लेख्य परम्परातिर उन्मुख भएका भाषामा सामग्री निर्माण, मातृभाषी शिक्षकको उपलब्धतामा कमी, भाषिक समुदायमा आफ्नो मातृभाषाको औपचारिक शिक्षाको उपादेयताबारे अविश्वासजस्ता कारण रहेका छन् । मातृभाषामा शिक्षा प्रदान गर्ने उद्देश्यले नेपाल सरकारका तर्फबाट करिब ३० भाषामा सामग्री तयार भए पनि लक्ष्यअनुरूप यो कार्यक्रम लागू हुन कठिनाइ भएको देखिन्छ । शिक्षणमा मातृभाषाको प्रयोगले बालबालिकाको घर र विद्यालयको भाषाबीच हुने अन्तरलाई कम गर्नुका साथ विद्यालयको वातावरणलाई मातृभाषासँग जोड्न सघाउँछ हरेक मातृभाषिक वक्ताका लागि भाषा पहिचान मात्र नभई यो सञ्चारको माध्यम, सामाजिक एकता, शिक्षा र विकाससँग समेत अन्तरसम्बन्धित हुन्छ । कुनै पनि भाषा यसका वक्ताका लागि सञ्चारको माध्यम भाषा मात्र नभई समग्र पर्यावरणका लागि समेत महत्वपूर्ण हुन्छ । भूमण्डलीकरण र आधुनिकीकरणका कारण संसारमा बोलिने भाषाको क्षयीकरण द्रुत गतिमा भइरहेको छ । भाषा लोप हुँदा त्यस भाषामा रहेका विशिष्ट विशेषता, त्यस भाषाले बोकेको विश्वदृष्टिकोण र विशिष्ट ज्ञानको समेत लोप हुने गर्छ । भाषा लोप हुँदा कुनै भाषाले दिने सोचाइ र व्यक्त गर्ने तरिकामा समेत ह्रास आउँछ । भाषिक र जैविक विविधतामा समानान्तर सम्बन्ध हुने गर्छ । जैविक विविधताजस्तै भाषिक विविधता पनि लोप हुने अवस्थामा रहेको छ । उदाहरणका रूपमा औषधिजन्य वनस्पतिलाई लिन सकिन्छ । भाषाको लोप हुँदा पर्यावरणीय ज्ञानमा ह्रास हुने विषयसमेत यहाँनेर सान्दर्भिक छ । जुरिच विश्वविद्यालयका अनुसन्धाता रोड्रिगो कामारा–लेरेटको अनुसन्धान टोलीले गरेको अध्ययनमा भाषा लोप हुँदा परम्परागत रूपमा प्रयोग हुँदै आएका औषधिजन्य वनस्पतिबारे रहेको ज्ञान र उपयोगमा समेत ह्रास आएको उल्लेख गरिएको छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका औषधिजन्य वनस्पतिभन्दा पनि त्यससम्बन्धी ज्ञानको ह्रास हुने विषय अझै मननीय रहेको छ । हरेक दुई सातामा एउटा भाषाले मृत्यु वरण गर्छ । भाषासँगै यससँग सम्बद्ध ज्ञान र बौद्धिक सम्पदाको समेत लोप हुने गर्छ । संसारमा बोलिने ६ हजार भाषामध्ये ४३ प्रतिशत भाषा लोपोन्मुख अवस्थामा रहेका छन् । यीमध्ये सीमित भाषालाई मात्र शिक्षा र सार्वजनिक क्षेत्रमा प्रयोग गरिएको छ र एक सयभन्दा कम भाषा डिजिटल संसारमा प्रयोग गरिएका छन् । बहुभाषिक र बहुसांस्कृतिक समाज भाषामार्फत अस्तित्वमा रहन्छन् । यस्ता समाजले परम्परागत ज्ञान र संस्कृति दिगो प्रकारले संरक्षण गर्छन् । नेपालमा भाषिक विविधता संरक्षणका विषयमा बहस भएका छन् । नेपालमा बोलिने एक सयभन्दा बढी भाषा पारिवारिक किसिमले पाँचभन्दा बढी भाषा परिवारसँग सम्बन्धित छन् । यी भाषा दशभन्दा बढी लिपिमा लेखिन्छन् । नेपालमा बोलिने भाषामा केकस्ता भाषिक विविधता छन्, त्यसको अझै पनि कमै मात्र चर्चा हुने गरेको पाइन्छ । निकै कम वक्ता भएका र लोपोन्मुख भाषाको अभिलेखीकरण र ती भाषालाई शिक्षामा प्रयोग गर्ने विषयमा समेत केही प्रयत्न भएका छन् । भाषा संरक्षण तथा संवद्र्धनमा सरकारी निकायबाट प्रदान गरिने अनुदान विभिन्न निकायबाट खर्च गर्ने गरिएको छ । भाषा संरक्षण तथा संवद्र्धनमा विभिन्न निकायबाट छरिएर गरिएका कार्यक्रमबाट अपेक्षित परिणाम प्राप्त गर्न सकिएको छैन । केही एकभाषिक समाज, राज्य तथा व्यक्तिले बहुभाषिकतालाई बोझ ठान्ने गरेको पनि पाइन्छ । उनीहरूले बहुभाषिकताले देशको एकता कायम हुन नदिने तथा राज्यलाई दायित्य मात्र थप्छ भन्ने गर्छन् । बहुभाषिक मुलुक भएका केही मुलुकमा धार्मिक तथा राजनीतिक कारणले त्यहाँ बोलिने भाषाको सूचीकरण नै गरिएको हुँदैन । विगत केही दशकसम्म बहुभाषिकतालाई हेय दृष्टिकोणले हेरिने र यसलाई विकासको बाधकसमेत मानिन्थ्यो । बालकको मस्तिष्कमा एउटा मात्र भाषा सिक्ने स्थान (खण्ड) हुने उनीहरूको सोचाइ थियो । घरमा एउटा भाषा बोल्ने बालबालिकाले विद्यालय जाँदा दोस्रो वा तेस्रो भाषा सिक्न कठिनाइ हुने कारण उनीहरूले अर्को भाषामा शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने तर्क सुनिन्थ्यो । सन् १९२६ मा एउटा जर्नलमा घरमा विदेशी भाषाको प्रयोगले मानसिक आघातको समेत चर्चा गरियो । अल्पसंख्यक वक्ताका सन्दर्भमा घरमा प्रयोग गरिने मातृभाषा लज्जा, गरिबीको विषय ठानिन्थ्यो र यसले त्यस्ता भाषाका वक्तालाई एक्लो पार्ने ठानिन्थ्यो । बसाइँसराइ गरी विदेशमा बसोवास गर्नेहरूका लागि आफ्नो पुख्र्यौली भाषाको प्रयोग नगर्न प्रेरित गरिन्थ्यो । सन् १९६२ मा फ्रान्सेली भाषाका वक्ताहरूमा मातृभाषाले कसरी विदेशी भाषा सिक्न बाधा पुर्याउँछ भन्ने विभिन्न परीक्षण गरियो । नतिजा त्यसको ठिकविपरीत निस्कियो (गार्डियन अनलाइन २०१८) । बौद्धिक किसिमले बहुभाषिक बालबालिका दुई वा त्यसभन्दा बढी भाषाका विशेषतासँग परिचित हुने हुँदा यसले उनीहरूको बौद्धिक लचकता उच्च तहको हुने पाइयो । यसले उनीहरूलाई नयाँ अवधारणा निर्माण गर्न विविधतायुक्त मानसिक क्षमता प्रदान गर्छ । त्यसकारण बहुभाषिक वक्ताका लागि बहुभाषिकता उच्च तहको मानसिक चिन्तनमा सहयोगी हुने गर्छ । बहुभाषिकताले मानव मस्तिष्कले गर्ने कार्यमा समेत प्रभाव पार्छ । वयस्क बहुभाषिक वक्तामा संवेज्ञात्मक नियन्त्रणका लागि आवश्यक पर्ने सीप बढी देखिन्छन् । लामो अवधिसम्म बहुभाषिकता प्रयोग गरेका बहुभाषिक वक्तामा यस प्रकारका संवेज्ञात्मक सीप प्रस्ट रूपमा देखिन्छन् । दुई भाषा प्रयोग गर्ने वक्ताको मस्तिष्कमा संरचनागत सुधार भएको पाइन्छ । नेपालमा बहुभाषिक शिक्षासँग सम्बद्ध केही अध्ययनले बहुभाषिक शिक्षाका केही परिणाम देखाएका छन् । बहुभाषिक शिक्षाले विद्यार्थीको कक्षा सहभागिता बढाउने, शिक्षण प्रभावकारी हुने, विद्यालय छोड्ने अनुपात घटाउनेजस्ता केही परिणाम देखाएको छ । नेपालमा ०७८ मा गरिएको जनगणनाको भाषासम्बन्धी सूचना प्रकाशन हुन बाँकी नै छ । विगतका केही जनगणनामा मातृभाषाको संख्या क्रमशः बढेको देखिन्छ । नेपालका केही भूभागमा बोलिने भाषाको सूचीकरण हुन नसकेको यथार्थलाई हेर्दा यो जनगणनामा भाषाको संख्या अझै बढ्ने सम्भावना छ । तथापि विगतका जनगणनामा मूलतः विदेशमा बोलिने भाषाहरू पनि मातृभाषाका रूपमा सूचीकरण भएको यथार्थ एकातिर छ भने पश्चिम नेपालका केही जिल्लाका नामबाट भाषाको सूचीकरण भएको स्थितिमा ती भाषा पुनः सूचीकरणमा पर्छन् वा पर्दैनन्, त्यसको सूचना कसरी प्रकाशन हुन्छ, भन्ने पक्ष विचारणीय छ । : संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई अन्तर्राष्ट्रिय मातृभाषा दशकका रूपमा मनाउने भनी गरेको घोषणाले यस दशकमा मातृभाषा दिवस झनै सान्दर्भिक हुने देखिन्छ । यस दशकमा मातृभाषाको संरक्षण एवम् पुनः सबलीकरणका प्रयासलाई तीव्रता दिने लक्ष्य राखिएको छ । नेपालका सन्दर्भमा समेत विगतका चार दशकमा भाषा अभिलेखीकरणमा उल्लेख्य काम भएका छन् । समुदायमा आधारित सामग्रीको निर्माण गरिएको छ ।यसले मातृभाषाको प्रयोग, संरक्षण, पुनः सबलीकरण र बढावा दिन सहयोग पुर्याउँछ । विश्वव्यापी रूपमा स्विकारिएको मानवाधिकारमा अल्पसंख्यक समुदायका मानिसले समान अधिकार प्रयोगको अवसर पाउनुपर्ने व्यवस्था उल्लेख छ । त्यसैले भाषिक अल्पसंख्यकले पनि आफ्नो पहिचान, संस्कृति र भाषालाई कायम राख्न र यिनीहरूलाई निरन्तरता दिन अल्पसंख्यक भाषाको संरक्षण तथा यिनीहरूको प्रयोगमा विस्तार गर्नुपर्छ । यस दशकको लक्ष्य नेपालमा भाषा अभिलेखीकरण, भाषा पुनः सबलीकरण र भाषाको संरक्षणमा केही ठोस काम गर्नुपर्ने आवश्यकता छ ।अन्तर्राष्ट्रिय मातृभाषा दिवसले पनि यही अपेक्षा गरेको छ । नेपालका विभिन्न सरकारी निकायमा भाषाविज्ञानमा दीक्षित जनशक्तिका साथै भाषिक समुदायको सहभागितामा तर्जुमा गरिने भाषा संरक्षण तथा संवद्र्धन कार्यबाट अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा यस दशकमा भाषा संरक्षणका लागि ठोस काम हुन सक्ने सम्भावना देखिन्छ ।
000
www.radiosonamai.org.np बाट साभार
No comments:
Post a Comment