Friday, September 9, 2022

अंगीकृत नागरिकता प्राप्त गर्न नेपालका राष्ट्रभाषाको न्यूनतम ज्ञान आवश्यक : भाषा आयोग

 काठमाडौँ — भाषा आयोगले अंगीकृत नागरिकता प्राप्त गर्न नेपाली भाषा वा नेपालका राष्ट्रभाषाको न्यूनतम ज्ञान आवश्यक हुनुपर्ने जनाएको छ । आयोगले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छैटौं वार्षिक प्रतिवेदनमा उक्त सुझाव उल्लेख गरेको हो ।


‘स्थानीय तहले निर्धारण गरेको सरकारी कामकाजको कुनै एउटा भाषाको न्यूनतम सक्षमता सुनिश्चित गरी अंगीकृत नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउनु जरूरी देखिन्छ,’ आयोगको प्रतिवेदनमा छ, ‘नेपालमा दैनिक जीवनयापनका लागि मूलभूत आवश्यकता पूरा गर्न सक्ने र समाजमा सञ्चार सम्पर्क कायम राख्न सक्ने न्यूनतम भाषिक सक्षमता भएको सुनिश्चित गर्न अंगीकृत नागरिकता लिन चाहने व्यक्तिले पायक पर्ने स्थानीय तहको शिक्षा शाखाबाट माथि उल्लेख भएका भाषामध्ये कुनै एउटा भाषाको न्यूनतम सक्षमता प्रमाणीकरण गर्न पाउने गरी संघीय कानुनमा व्यवस्था गर्नु आवश्यक देखिन्छ ।’
  

आयोगले पालिका र प्रदेशका साथै संघीय भाषा नीति र संघीय भाषा ऐन पनि निर्माण हुनुपर्ने सुझाव पेस गरेको छ । यस्तै संघ, प्रदेश र स्थानीय तहमा बहुभाषिक नीति बन्नु पर्ने, तीनै तहमा बहुभाषिक नीति अवलम्बन गरिनु पर्ने भनेको छ । भाषिक हिंसा हटाउने गरी भाषिक मानव अधिकारको प्रत्याभूति हुने गरी ऐन बन्नु पर्ने उल्लेख छ । मातृभाषामा शिक्षा पाउने हकको प्रत्याभूति दिनु पर्ने, भाषिक सहिदको अभिलेख संकलन गरी भाषिक सहिदको घोषणा गरिनु पर्ने भनेको छ ।

यस्तैगरी भाषा अनुसन्धान केन्द्रको स्थापना गर्नु पर्ने, शिक्षाको माध्यम भाषाको जगबाट सरकारी कामकाजको भाषाको आधार निर्माण हुनुपर्ने प्रतिवेदनमा छ । नेपाली सांकेतिक भाषा र ब्रेललिपिका माध्यमबाट शिक्षा र सूचना प्राप्त गर्ने व्यवस्था हुनुपर्ने, पठन पाठन प्रश्न पत्र र प्रमाण पत्रको भाषा नेपालीमा हुनुपर्ने, सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपाली भाषा र मातृभाषा सपथ लिन पाउने र दुवै भाषाको अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेलगायत २७ बुँदे सिफारिस रहेका छन् ।

नेपाली मातृभाषा

आयोगका अध्यक्ष लवदेव अवस्थीले नेपाली भाषालाई मातृभाषाका रूपमा परिभाषित गरिएको बताए । ‘आयोगले बालबालिकाले आफ्ना आमा, बुबा, हजुरआमा, हजुरबुबा र घरपरिवारका अन्य सदस्यका साथै नजिकका आफन्त एवं स्याहार सुसार गर्ने व्यक्तिबाट प्राप्तक गरेको भाषा मातृभाषा हो,’ प्रतिवेदनबारे आयोगका अध्यक्ष अवस्थीले भने, ‘नेपाली भाषासहित नेपालका सबै भाषाहरू मातृभाषा र राष्ट्रभाषा हुन् । नेपाली भाषा पनि मातृभाषा हो ।’

थपिए १० भाषा

भाषा आयोगले नेपालमा भारोपेली, भोट बर्मेली, आग्नेली/अस्ट्रो एसियाली, ऽविड र परिवार नखुलेको कुसुन्डा भाषा गरी पााच भाषा परिवारका भाषाहरू बोलिने जनाएको छ । पछिल्लो अध्ययनले मुलुकमा १ सय ३२ भाषा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । जनगणना २०६८ को तथ्यांकअनुसार नेपालमा १ सय २३ भाषा प्रयोगमा रहेका छन् ।

आयोगले गत वर्षको प्रतिवेदनमा रानाथारू, नार फु, चुम (स्यार), नुब्रि (लार्के), पोइके, सेराके (सेके), मारेक–याक्खा र नावा शेर्पा भाषा अस्तित्वमा रहेको देखाएको थियो भने दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा ‘क्षेत्तेली’ भाषा पहिचानमा आएको जनाएको छ । ‘यी भाषाहरूको अध्ययन, अनुसन्धान तथा सत्यापन गरिनु आवश्यक छ,’ प्रतिवेदनमा उल्लेख छ ।

आयोगले कुसुन्डा भाषा बोल्ने वक्त एकजना कमला कुसुन्डा सेनमात्र रहेको जनाएको छ । उनले बोलेको बोलीलाई आयोगले प्रशिक्षण दिएर वक्ता संख्या बढाउने काम भइरहेको उल्लेख गरेको छ ।


www.ekantipur.com  बाट साभार 

























No comments:

Post a Comment